हेलिकप्टर दुर्घटनामा परेर पनि बाचेको देवानसिंह राई भन्छ:‘मलाई लैजान सक्दो प्रयास गरेको काल रित्तै फर्कियो’
सोलुखुम्बु, माघ १२ । मंगलबार साँझ काठमाडौंबाट सदरमुकाम सल्लेरीमा आइपुग्नासाथ जुभिङका देवानसिंह राई सञ्चारकर्मीको खोजीमा निस्किए, उनलाई आफूले मृत्युलाई जितेको कथा सुनाउन हतारो थियो ।चार महिनासम्म राजधानीमा उपचार गराएर घर फर्किएका राईको भनाइ थियो– ‘मलाई लैजान सक्दो प्रयास गरेको काल रित्तै फर्कियो ।’
उनी त्यो घटना सम्झँदा पनि बर्बराउन थाल्छन् । पन्ध्र घण्टामा दुईपटक कालको मुखमा पुगेर बाँचेका उनी घटना सम्झँदै भन्छन्, ‘सायद काल पनि मसँग हारेर रित्तै फर्कियो ।’ ‘टेक अफ’ गर्नेबित्तिकै हेलिकप्टरको ड्यासबोर्डमा इन्जिनमा खराबी देखिएको नोटिफिकेसनको सङ्केत आएपछि क्याप्टेन थापाले फोर्स ल्यान्डिङ गर्न लाग्दा हेलिकप्टर दुर्घटनामा परेको थियो । ‘अगाडिको भाग क्षतिग्रस्त भएको हेलिकप्टरबाट चालकसहित अरू त तत्कालै भागे तर लडेर घाइते देवान भाग्न सकेनन्,’ राई भन्छन्,‘सबै भागेपछि मैले जोडसँग कराउँदै आफूलाई पनि बाँच्न मन भएकाले निकाल्न आग्रह गरेँ, केही बेरपछि पाइलट आएर रुँदै केही हुँदैन, अब बाँचियो भने, त्यसपछि बाँच्ने आशा पलायो, एक घन्टामा अर्को हेलिकप्टर आएर हामीलाई काठमाडौँ पुर्यायो, अनि उपचार गरेर आज फर्कंदैछु ।’ नेपाली आकासमा विमान दुर्घटनामा परिसकेपछि बाँचेकाको रेकर्ड नगण्य छ । सामान्यतया विमान दुर्घटना भएपछि बाँच्नु त के कुरा, सग्लो शव भेट्नसमेत गाह्रो पर्छ । त्यसैले दुर्घटनापछि नयाँ जीवन पाउँदा आफ्नो शरीर र जीवनको धेरै माया लागेको उनी बताउँछन् । दुर्घटनाअघि रोजगारीका लागि विदेश जाने तयारी गरेका देवान अब भने जस्तो दुःख परेपनि आफ्नै गाउँमा मिहेनत गरेर बस्ने अठोटमा छन् । (रासस)

0 comments
Write Down Your Responses