लोडसेडिङ हटाएपछि कुलमानले अब १० हजार थान नयाँ ट्रान्सफर्मर जोड्ने
५ माघ, काठमाडौं । लोडसेडिङका दुईवटा कारण थिएः पहिलो- विद्युतको कालोबजारी र दोस्रो- प्रसारण लाइन, पोल, तार एवं ट्रान्सफर्मरको गएगुज्रेको अवस्था । प्राधिकरणमा कुलमान घिसिङले नेतृत्व सम्हालेपछि ‘बिजुली चोर’ हरुको निद्रा हरण भइसकेको छ । र, अब दोस्रो चरणको सुधार योजना अन्तरगत प्राधिकरणका अधिकारीहरुको ध्यान विद्युतको वितरण प्रणालीमा सुधार ल्याउनेतिर केन्द्रित हुन थालेको छ ।
नेपाल विद्युत प्राधिकरणले वितरण प्रणालीमा सुधार ल्याउनका लागि थप १० हजार थान नयाँ ट्रान्सफर्मर जोड्ने भएको छ । देशलाई लोडसेडिङमुक्त बनाउने अभियान सुरु भएसँगै अबको दुई वर्षभित्र १० हजार नयाँ ट्रान्सफर्मर जडान गर्ने योजना बनाइएको हो ।
ट्रान्सफर्मर खरिदको गृहकार्य हुँदै-
वितरण प्रणालीको सुधारका लागि ट्रान्सफर्मर खरिदको खाका तयार गरेर त्यसलाई कसरी ब्यवस्थापन गर्ने भन्ने पूर्वयोजना प्राधिकरणले बनाइरहेको अधिकारीले बताएका छन् । उनका अनुसार धेरै स्थानमा गुणस्तरीय ट्रान्सफर्मर नहुँदा बिजुलीको प्रावधिक चुहावट पनि त्यसैबाट हुने गरेको छ । यसैगरी मागअनुरुप ट्रान्सफर्मरको क्षमता कमजोर हुँदा धेरै क्षेत्रमा नागरिकले गुणस्तरीय बिजुली उपयोग गर्न पाएका छैनन् । कतिपय ठाउँमा बिजुली पुगे पनि मधुरो बत्तीमै बस्नुपर्ने बाध्यता विद्यमान छ । कतिपय शहरी क्षेत्र पनि यस्ता समस्याबाट अछुतो छैनन् । त्यसैले बिजुलीका उपभोक्तालाई अधिकतम् बिजुली उपयोग गर्न प्रोत्साहित गर्न समेत ट्रान्सफर्मरको संख्या बढाउन आवश्यक रहेको निश्कर्ष प्राधिकरणको छ । खपत बढाउने चुनौति पिक आवरमा बिजुलीको माग उच्च भए पनि अन्य समयमा बिजुलीको माग न्युन भएकाले प्राधिकरणले अबको दुईवर्षपछि बिजुलीको उपयोग दर बढाउन पनि आवश्यक ठानेको छ । त्यसका लागि नागरिकलाई गुणस्तरीय र निरन्तर बिजुली आपूर्तिको प्रत्याभूति दिनुपर्ने प्रवक्ता अधिकारी बताउँछन् ।
‘लोडसेडिङ अत्त्य भएपछि घर-घरमा बिजुलीका सामाग्रीको उपायेग बढ्नुपर्छ । नाकाबन्दीमा ग्यास अभाव हुँदा इन्डक्शन चुल्हो बालिएजस्तै बिजुलीको आपूर्तिप्रति नागरिक विश्वस्त भएर त्यस्ता उपकरणहरुको प्रयोग हुनुपर्छ’
अधिकारीले भने- ‘त्यसका लागि आवश्यक वातावरण तयार गर्न हामीले पूर्वयोजना बनाएका हौं ।’ अहिले काठमाडौंमा पिक आवरमा ३२० मेगावाट बिजुलीको माग छ । तर, त्यो मध्यरातपछि घटेर १२० मेगावाटको हाराहारीमा र्झछ । यसबाटै पनि बिजुलीको खपतमा नेपाली बजार कति कमजोर छ भन्ने प्रष्ट हुन्छ । रातमा चलायमान हुने देशको एकमात्रै शहर मानिने काठमाडौंमै पनि रातमा बिजुली खपत निकै कमजोर देखिन्छ । ‘अहिले पो बिजुलीको समस्या छ । अब हामीसँग माथिल्लो तामाकोशीको बिजुली आउनासाथ यो बिजुलीको खपत दर बढाउन आवश्यक हुन्छ’ अधिकारीले भने, ‘हामी अब प्राधिकरणका सबै संरचनालाई अधिकतम् बिजुली उपयोगमैत्री बनाउन लागेका छौं । यसका लागि नयाँ ट्रान्सफर्मरहरु उपयोगी हुनेछन् ।
प्रणाली विस्तार र सुधारको योजना-
खरिद गरिने नयाँ ट्रान्सर्फमर ग्रामीण विद्युतीकरणमा पनि उपयोग हुनेछ । लोडसेडिङ अन्त्य भएपछि गाउँमा पनि साना उद्योगहरु खुल्ने वातावरण तयार हुने भएकाले त्यसका लागि पनि यो आवश्यक मानिएको छ । प्राधिकरणको अहिलेको वितरण प्रणाली निकै कमजोर र अवैज्ञानिक छ । स्थानीय क्षेत्रको माग र खपतको अवस्थासँग ट्रान्सफर्मरको क्षमता मेल नखाएका कारण पडि्कने समस्या पनि यथावत छ । काठमाडौंमा यही अवस्था अन्त्य गर्न प्राधिकरणले प्रणाली सुधारका लागि पछिल्ला समयमा थुप्रै काम गरेको जनाएको छ । लोडसेडिङ हटाउने अभियानलाई पनि सबल प्रणालीले सहयोग गर्ने भएकाले आवश्यकता र औचित्यका आधारमा ट्रान्सफर्मरहरु फेर्ने काम तीब्र पारिएको प्रवक्ता अधिकारीले बताए । ‘काठमाडौंको वितरण प्रणालीमा गरिएको सुधार पनि अहिले महत्वपूर्ण छ । वितरण प्रणालीलाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्नु हाम्रो चुनौति थियो’ अधिकारीले भने, ‘हामीले प्रयत्नहरु गरेका छौं । यसले सकारात्मक नतिजाहरु पनि देखिएका छन् ।

0 comments
Write Down Your Responses