अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एउटा सानी बच्ची ले लेख्यो यस्तो खुलापत्र

१२ माघ, काठमाडौं । सिरियाली युद्धग्रस्त क्षेत्र एलेप्पोबाट लगातार ट्वीट गरेर चर्चामा आएकी ७ वर्षीया बालिका बाना अलाबेदले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एउटा खुलापत्र लेखेकी छिन् । उनले संकटमा रहेका सिरियाली बालबालिकाका लागि केही गर्न ट्रम्पलाई अपिल गरेकी छिन् ।‘तपाईंले सिरियाका बालबालिकाका निम्ति केही गर्नुपर्छ, किनकी तिनीहरु तपाईंकै सन्तानजस्ता हुन् र शान्तिमा बाच्न पाउने हक राख्छन्’ पत्रमा लेखिएको छ ।विस्थापनका क्रममा बाना आफ्नो परिवारसँग एलप्पोबाट टर्कीमा पुगेकी छन् ।

घेराउमा परेको पूर्वी एलेप्पोबाट लेखेका सन्देशहरुले गर्दा उनको ट्वीटर अकाउन्ट प्रख्यात बनेको थियो । उनलाई एकाउन्ट चलाउन सहयोग गर्न उनकी आमा फतेमाले पत्रको व्यहोरा बिबिसीलाई पठाएकी छिन् । ट्रम्पले सपथग्रहण गर्नुभन्दा अघिल्लो दिन छोरीले यो पत्र लेखेको उनले बताइन् ।
बानाले ट्रम्पलाई लेखेको पत्र यस्तो छः

प्रिय डोनाल्ड ट्रम्प
मेरो नाम बाना अलाबेद हो र म एलेप्पोकी ७ वर्षीया सिरियाली बालिका हुँ । घेरा हालिएको पूर्वी एलेप्पोलाई गत वर्षको डिसेम्बरमा छाड्नुअघि मेरो सम्पूर्ण जीवन सिरियामा बिताएँ । सिरियाली युद्धबाट प्रताडित भएका सिरियाली बालबालिकामध्येकी म एउटी हुँ । तर, अहिले टर्कीमा मेरो नयाँ घरमा म शान्तिका साथ बसिरहेकी छु । एलेप्पोमा म स्कुल जान्थेँ तर, बमवारीमा परेर यो ध्वस्त भयो । मेरा केही साथीहरु मरे । उनीहरुप्रति म अत्यन्त दुःखी छु । यदि उनीहरु यतिबेला यहाँ भइदिएको भए हामी सँगै खेल्थ्यौं । एलेप्पोमा म खेल्न सक्दिनथेँ । यो मृत्युको शहर थियो । अहिले टर्कीमा म बाहिर जान र रमाइलो गर्न सक्छु । म स्कुल जान सक्छु तर, अहिलेसम्म गएकी छैन । त्यसैले गर्दा तपाईंसहित सबै जनाका लागि शान्ति महत्वपूर्ण छ । तर, दशौं लाख सिरियाली बालबालिका मेरो जस्तो अवस्थामा छैनन् र सिरियाको विभिन्न क्षेत्रमा दुःख झेलिरहेका छन् । ठूला मानिसहरुका कारण उनीहरुले दुःख पाइरहेका छन् । मलाई थाहा छ, तपाईं अमेरिकाको राष्ट्रपति बन्दै हुनुहुन्छ, त्यसैले के तपाईं ती बालबालिकाकहरु र सिरियाका जनतालाई बचाउन सक्नुहुन्छ ? सिरियाका बालबालिकाका निम्ति तपाईंले केही गर्नैपर्छ किनकी उनीहरु तपाईंकै बच्चाजस्ता हुन् र तपाईंले जस्तै शान्तिपूर्ण रुपमा बाँच्ने अधिकार राख्छन् । यदि तपाईं सिरियाका बालबालिकाका निति केही गर्ने वाचा गर्नुहुन्छ भने म अहिले नै तपाईंकी नयाँ साथी भएँ । सिरियाका बालकालिकाका निम्ति तपाईंले के गर्नुहुन्छ भनेर म हेरिरहेकी छु ।

0 comments

Write Down Your Responses