प्रधानमन्त्री प्रचण्ड भन्छन :पहिले जस्तो सजिलै सरकार छाडिँदैन अब !
२५ पुस, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले सजिलै सरकार नछाड्ने बताएका छन् । साथै संविधान संशोधन विधेयक पेश गर्ने क्रममा संसदमा एमालेले गरेको विरोध सहमति अनुसार नै भएको दाबी गरे ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘एग्री टु डिसएग्री अनुसार संसदमा एमालेले अवरोध गरेको हो । संयुक्त सरकार भएपछि केही अप्ठ्याराहरु अवश्य हुन्छन् । हामीले एडजस्ट गर्नुपर्ने अवस्था आइपर्छ । त्यही एडजस्ट गरेको मात्रै हो ।’ आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको ‘वान टु वान’ वार्तामा समझदारी कायम गर्दै अघि बढ्ने सहमति भएको उनले दाबी गरे । बाहिर आएको जस्तो एमालेसँग कुनै असमझदारी नभएको प्रचण्डको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले पुरक बजेट ल्याउने सम्भावनाबारे सम्बन्धित निकायमा छलफल भइरहेको भन्दै चितवनका लागि विशेष प्याकेज ल्याउने आश्वासन समेत दिए । पूर्व प्रतिवद्धता विपरित रिबन काट्ने काममा किन हिँडेको भन्ने पत्रकारको जिज्ञासामा प्रचण्डले आफू विकास निर्माणको कामका लागि देश दौडाहामा लागेको बताए । ‘रिवन काट्ने कार्यक्रममा गएको होइन । पूर्व मेचीदेखि महाकालीसम्म जहाँ पुगेको छु । बिकास निर्माणलाई गति दिनका लागि पुगेको छु । प्रचण्ड पुग्दा रिवन काट्ने कार्यक्रम बन्नु स्वभाविक हो,’ उनले भने ।

0 comments
Write Down Your Responses