श्रीमती बैदेशिक रोजगारमा विदेश हिडेपछि घर सम्हाल्ने पुरुष..
काठमाडौं । चितवन दिव्यनगरका नारायणप्रसाद दबाडीको बिहानी सुरु हुन्छ घरको सरसफाइवाट । उनी उठ्नेवित्तिकै कुचो लगाउने, घर पुछ्ने काम सकेपछि छोरोछोरीका लागि चिया नास्ता बनाउन थाल्छन् ।
छोराछोरी नास्ता खाएर ट्युसन गएपछि उनी भान्छामा व्यस्त हुन्छन् । त्यसपछि सुरु हुन्छ दवाडीको दैनिकी । विहान छोराछोरीलाई स्कुल पठाउने, स्कुलका लागि टिफिन बनाउने सम्पुर्ण घर व्यवहार उनकै एक्लो थाप्लोमा छ ।
सुमित्राले सबै घरको जिम्मेवारी लिएकी थिइन् । त्यही सुमित्राको भुमिकामा आज नारायणप्रसाद छन् । छरछिमेकले कहिलेकाहीँ खिस्याउँछन् । महिलाले गर्ने काम किन गरेको भनेर सोध्छन्, तर उनले यस्ता कुरालाई वास्ता गदैनन् । ‘संसारमा महिलाले गर्ने काम पुरुषले गर्ने काम भनेर छुट्टयाएको छैन जस्तो लाग्छ,त्यसैले मलाइ यस्ता कुराको मतलब लाग्दैन्’ दवाडी भन्छन् । धेरै पुरुष कमाउन देशविदेश गएका छन् । कमाएर घरमा श्रीमतीलाई पैसा पठाउँछन् । तर नारायणको भने फरक छ । उनकी श्रीमतीले कमाएर उनलाई घरव्यवहार चलाउनु भनेर विदेशवाट पैसा पठाउँछिन् । उनी भन्छन् ‘धेरै पुरुषले घरखर्च चलाउन भनेर श्रीमतीलाई पैसा पठाउँछन्,तर मेरो श्रीमतीले मलाई घरखर्च चलाउ चनेर मलाई पैसा पठाउँछे यसमा म एकदमै खुसी छु ।’ धेरैले श्रीमतीको कमाए खाएर बसेको भन्ने गरेपनि आफूलाई श्रीमतीको कमाइ खाँदा गर्व लाग्ने गरेको अनुभव उनले सुनाए । उनी भन्छन् ‘धेरैले श्रीमतीको कमाइ खाको छ भन्छन्, म मतलब गर्दिनँ, झन् मलाई उसले पठाएको कमाइ राम्रो काममा खर्च गर्छु, गर्व लाग्छ उसको कमाइ खाँदा ।’
परदेशमा रहेकी श्रीमतीलाई नारायणले नेपालवाट कपडा, मेकअपका सामान, खानेकुरा पठाउँछन् । ‘उनले मलाइ यस्तो कपडा,यो खानेकुरा, यो क्रिम चाहियो पठाइदिनु भन्छिन् । म त्यो किनेर र खानेकुरा आफैँ बनाएर उनलाई इजरायल पठाइदिन्छु’ दवाडीले भने । इजरायलवाट नारायणकी श्रीमती सुमित्राले टेलिफोनमा भनिन् ‘मेरो भूमिकामा अहिले मेरो श्रीमान हुनुहुन्छ । सबै घरको जिम्मेवारी उहाँकै काँधमा छ ,म परदेशमा छु, त्यहाँको काम सबै उहाँले सम्हाल्नुभएको छ, मलाई सपोर्ट गर्नुहुन्छ, म खुसी छु ।’ इटहरीका श्याम निरौला पनि घरधन्दामै व्यस्त हुन्छन् । श्रीमती पैसा कमाउन इजरायल गएपछि घर र दुई छोरीको जिम्मेवारी उनकै काँधमा छ । घरखर्चका लागि श्रीमतीले खर्च पठाउँछिन्, श्यामले सन्तानको खर्च देखि घरव्यवहारको व्यवस्थापन गर्ने गर्छन् । ‘घरको सबै जिम्मेवारी मेरो काँधमा छ । उनी पैसा कमाउन विदेश गएपछि म घरवार सम्हालेर बसेको छु, काम गर्न केको लाज रु यो घर मेरो पनि हो, यी सन्तान मेरा पनि हुन् ।
उनीहरूको जिम्मेवारी पुरा गर्नु मेरो पनि कर्तव्य हो’ उनले भने । श्यामकी श्रीमती राधा निरौलाले महिला खबरसँग टेलिफोनमा भनिन् ‘मैले कमाएको पैसा उहाँले सदुपयोग गर्नुभएको छ, मलाई धेरै सहयोग पनि गर्नुहुन्छ ।’ राधा निरौला रोजगारीका लागि इजरायल बसेको नौ वर्ष भएको छ । काठमाडौंकी सानु कार्की पनि इजरायल गएको नौ वर्ष भयो । उनी आफ्नो परिवारको सुरक्षित भविष्यको कल्पनासहित त्यहाँ पुगिन् । उनी विदेश गएपछि दुई छोरी र घरको जिम्मेवारी उनको श्रीमान् विकास कार्कीको काँधमा छ । ‘श्रीमती वैदेशिक रोजगारीमा गएपछि सबै जिम्मेवारी मेरै काँधमा छ । सबै काम गर्छु ।’ इजरायलवाट सानु कार्की भन्छिन् ‘श्रीमान श्रीमतीको मन मिल्यो भने कस्ले के काम गर्यो भन्ने कुराको कसैलाई मतलब हुँदैन, छोरीहरूको भविष्यको लागि पैसा जम्मा गरेपछि म पनि नेपाल फर्कने छु र सबै परिवारका साथ सधैँ खुशीको जिवन बिताउँने छौं ।

0 comments
Write Down Your Responses