१६ बर्षको सानै उमेरमा नेपाल च्याम्पियन बने किशोर श्यान्टु श्रेष्ठ

२४ पुस, काठमाडौं । ‘जब मैले दीप दाइलाई हराएँ, त्यसपछि हो स्वर्ण पदकबारे सोचेको । नेपाल नम्बर एकलाई त हराएँ भने अरुलाई हराउन किन सक्दिन ? जस्तो लाग्यो’ विराटनगरमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको टेबलटेनिसमा क्वाटरफाइनलमा उनले नेपाल नम्बर एक दीप साउनसँग भेट पक्का भएपछि उनलाई आफ्नो यात्रा यत्ति हो भन्ने लागेको थियो । तर, उनले दीपलाई मात्र हराएनन्, स्वर्ण समेत जिते।

यो कथा हो टीटी च्याम्पियन १६ वर्षे किशोर श्यान्टु श्रेष्ठको । सातौं राष्ट्रिय खेलकुद अघिसम्म श्यान्टु टेवल टेनिसका एक जुनियर खेलाडी मात्र थिए । तर, सिनियरमा फड्को मारेको पहिलो प्रतियोगितामै उनी नयाँ इतिहास रच्न सफल भए । पहिलो पटक राष्ट्रिय प्रतियोगिता खेलेका दोलखाका १६ बर्षीय यी किशोरले पुरुष एकलमा स्वर्ण जितेर उनले सबैलाई आश्चर्यसकित पारिदिए । श्यान्टुले आफू जन्मनुअघि नै साग गेम्स खेलिसकेका एपिएफमा शिवसुन्दर गोथेलाई हराएर उनले स्वर्ण जितेका हुन् । पुरूष एकलको फाइनलमा गोथे र श्यान्टु भिड्दै सेमिफाइनलमा नेपाल आर्मीका अमरलाल मल्ललाई मुस्किलले पराजित गर्दै उनले फाइनलसम्मको ऐतिहासिक यात्रा तय गरे । फाइनलमा थिए नेपाली टीटीका घघडान स्टार गोथे । उनले भने, ‘सिंगल्सको फाइनलअघि टिम इभेन्ट्सको फाइनलमा गोथे सरलाई हराइसकेको थिएा । त्यसमा पनि नेपाल नम्बर एकलाई क्वाटरफाइनलमै हराएको जोश थियो ।’ धेरैले भन्न सक्लान् श्यान्टूको यो जित भाग्यका कारण मात्र होला । तर, होइन, यसको पछाडि लामो कहानी छः नयाँबजारस्थित प्राइम कलेजमा म्यानेजमेन्टमा १२ पढ्दै गरेका १६ वर्षे किशोर श्यान्टूको प्रतिभा बुझेरै प्रशिक्षक राकेश महर्जनले पुलिस क्लबमा अनुबन्ध गरिदिए । र, सातौं राष्ट्रियमा सिनियर टोलीमा परे । सातौंमै महिला एकलमा स्वर्ण जितेकी पुलिसकै नविता श्रेष्ठ उनकी गुरुआमा हुन् । नोवेल एकेडेमीका उत्पादन उनलाई पहिलो पटक नविताले नै ब्याट समाउन सिकाएकी थिइन्, जहाँ उनी टीटी प्रशिक्षक थिइन् ।ब्याट समाउन सिकाएकी गुरुआमासँग च्याम्पियनको रुपमा समानान्तर बसेर फोटो खिचाउन पाउनुलाई श्यान्टु जीवनकै अविस्मरणीय क्षण मान्छन् । ‘म्यामले पहिलादेखि नै भन्नुहुन्थ्यो । एक दिन तँ र म सँगै च्याम्पियन बनेर फोटो खिच्नुपर्छ श्यान्टुले सम्झिए, ठ्याक्कै त्यो दिन आयो, एकदमै खुसी लागेको थियो ।’ श्यान्टुका अनुसार उनी सुरुमा स्वीमिङका पारखी तिए । साथीले टीटीमा चेकब्याट सित्तैमा पाइन्छ भनेपछि अडिसन दिन गए र छनौट भए । यो पाँच बर्ष अघिको मात्र कुरा हो । श्यान्टुले भने, ‘मलाई ब्याट समाउन सिकाएको नविता म्यामले नै हो ।’ त्यतिबेला अन्तर विद्यालयस्तरीय प्रतियोगिता सुरु हुन लागेको रहेछ । दुई पटक इन्टर स्कुलमा खेलेका उनले दुवैमा हारे । त्यसबीचमा टीटीका अहिलेका मूख्य प्रशिक्षक शंकर गौतम (जो श्यान्टुका बुबाका साथी पनि हुन्)ले उनको खेल देखे र स्वीमिङ छाडेर टीटी खेल्न सल्लाह दिए । उनैको सल्लाहअनुसार टीटीका तत्कालिन प्रशिक्षक सुशील पौडेलसँग दिनको दुई सिफ्ट प्रशिक्षण लिएका उनले यू-१० राष्ट्रिय प्रतियोगितामा स्वर्ण जिते, जतिबेला उनी सात कक्षामा पढ्दै थिए । स्वीमिङ खेल्दा कहिल्यै जित्न नसकेको मेडल टीटीबाट जितेपछि उनलाई लाग्यो, अबको बाटोे यही हो ।
तर, यू-१२ प्रतियोगितामा लगातार तीन पटक पराजित भए । स्वर्ण नआएसम्म खेल्न नछाड्ने अठोट लिएका उनी चौथो प्रयासमा सफल भए । त्यसबीचमा उनलाई उमेरले पनि साथ दियो । ‘त्यसपछि मैले जुनियर प्रतिस्पर्धामा लगभग सबै प्रतियोगिता जितेँ’ श्यान्टुले भने, ‘तर जुनियर राष्ट्रिय प्रतियोगितामा चाहीँ एउटामा दोस्रो भएको थिएँ ।’र, टेबलटेनिसको चेकब्याट समाएको ५ वर्षमा नै उनी नेपालको नम्बर १ बन्न सफल भएका छन् । अब उनको लक्ष्य छ, आगामी सागमा मेडल । सातौं राष्ट्रिय खेलकुदको तयारी गर्दा उनले एक महिना पाकिस्तानी प्रशिक्षक आरिफ खानबाट प्रशिक्षित हुने मौका पाए । यसल आफ्नो खेलमा धेरै परिवर्तन पाएको उनले सुनाए । उनले अघि भने, ‘त्यसैले बिदेशबाट प्रशिक्षक ल्याएर होस् या खेलाडीलाई विदेशमा प्रशिक्षणका लागि पठाएर होस्, स्तर सुधारको लागि अतिनै आवश्यक छ ।’ खासमा उनी दाइको प्रेरणामा खेलकुदमा लागेका हुन् । बनिन श्रेष्ठ स्वीमिङमा नेपालको नम्बर दुईसम्म पुगेका खेलाडी हुन् । साग र एशियन युथ च्यान्पियनसीप खेलिसकेका उनी खेल छाडेर पढाइमा ध्यान दिए । ‘तर म चाहीँ खेल्न छाडि्दनँ । मेरो पढाई पनि दाइ जतिको राम्रो छैन, एभरेज हो’ (हाँस्दै ) श्यान्टुले भने, अझै धेरै गर्न बाँकी छ ।

0 comments

Write Down Your Responses