हेर्नुहोस त यसरी पो चोरिँदोरहेछ बिजुली !

९ माघ, काठमाडौं । अनामगरको रामेश्वर मिठाई पसलमा पछिल्लोपटक झण्डै ५० हजारको बिजुलीको बिल उठ्यो । मिटर रिडरले रिडिङ गरेर गएको केही दिनमै अर्का कर्मचारी त्यहाँ पुगे र, सञ्चालक रमेश चुडालसँग बार्गेनिङ गरे । उनीहरुबीच सहमति भयो १० हजारको बिल बनाउने । बाँकी ४० हजार आधा चुडाललाई छुट दिने र आधा (२० हजार रुपैयाँ) प्राधिकरणका कर्मचारीको भागमा छुट्याउने । सहमतिपछि प्राधिकरणका कर्मचारीले १० हजारकै बिल बनाए । त्यसपछि मिटर रिडरले मिटरको अंक घटाइदिए । मिटरलाई उल्टो घुमाएर अंक र बिल बराबर गरेपछि उनीहरुले पुनः सिल बायर, सिल गोटीको प्रयोग गर्दै आफैंले सिल लगाइदिए ।

यसका लागि मिटरको सिल खोल्न र बन्द गर्न प्रयोग हुने उपकरणहरु कर्मचारीले आफ्नै साथमा बोकेका थिए । कुमार लामाले गोकर्णेश्वरमा मञ्जुश्री खानेपानी फ्याक्ट्री सञ्चालन गरेका छन् । सो फ्याक्ट्रीमा झण्डै ९४ हजार रुपैयाँको बिजुलीको विल उठ्यो । त्यहाँ पनि मिटर रिडिङ गरेको केही दिनमा नै प्राधिकरणको बालाजुस्थित कार्यालयका सुपरभाइजर सुमन श्रेष्ठ पुगे । श्रेष्ठले करिब १३ हजार रुपैयाँमा डिल गरे । बाँकी रकमको आधा मात्रै तिर्नुपर्ने भएपछि लामा पनि तयार भए । त्यहाँ पनि रामेश्वर मिठाई पसलकै शैली अपनाइयो र ९४ हजारको बिललाई १३ हजारमा मा झारेर त्यही अनुसार मिटर पछाडि घुमाइयो । र, बाँकी पैसामा उपभोक्ता र प्राधिकरणका कर्मचारीवीच लेनदेन भयो । अन्ततः प्रहरीले श्रेष्ठलाई यसरी नै बार्गेनिङका लागि गएका बेला बालाजुबाट पक्राउ गरेपछि उनको ठगी धन्दामा पूर्णविराम लाग्यो । श्रेष्ठ चढ्ने गाडी बा ५ च ३४५१ पनि प्रहरीले नियन्त्रणमा लिएको छ । बालाजुमा कार्यरत सुपरभाइजर श्रेष्ठको समूहले झण्डै एक दशकदेखि यसरी नै विद्युत चुहावट गरेर ठगी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यसमा प्रधाधिकरणका दुई पूर्व कर्मचारीका साथै प्राधिकरणका १० जना बहालवाला कर्मचारी पक्राउ परेका छन् ।
को को समातिए ?
विद्युत चुहावटमा विद्युत प्राधिकरणकै कर्मचारीकै संलग्नता खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले यसमा संलग्न सुपरभाइजरसहित १० कर्मचारीलाई पक्राउ गरेपछि विद्युत चोरी गरी कसरी राज्यलाई ठगेर तस्करहरु मोटाइरहेका छन् भन्ने रहस्य जनतासमक्ष पर्दाफास भएको हो ।महानगरीय प्रहरी अपराध महाशाखाले त्यसरी पक्राउ पर्नेहरुको नाम आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा विद्युत प्राधिकरण बालाजुको सुपरभाइजर पदमा कार्यरत सुमन श्रेष्ठ सबैभन्दा ठूला कर्मचारी हुन् । उमेरले ५० वर्ष पुगेका श्रेष्ठ काठमाडौं-२८ का बासिन्दा हुन् । त्यसैगरी अछामको भट्टाकाटिया घर भई कोटेश्वरमा बस्ने नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय रत्नपार्कमा बरिष्ठ सहायक पदमा कार्यरत ५१ वषर्ीय दिलबहादुर साउदलाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मिटर रिडर कर्मचारी बढी छन् । नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रमा कार्यरत मिटर रिडर महादेव प्रधान पक्राउ परेका छन् । ५१ वषर्ीय प्रधान सर्लाहीको हरिपुर-९ निवासी हुन् । त्यस्तै नेपाल विद्युत प्राधिकरण बानेश्वर शाखामा इलेक्टि्रसियन पदमा कार्यरत ३९ वषर्ीय मिटर रिडर अच्युत खड्कालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक सुनखानी घर भएका खड्का जडीबुटीमा बस्थे । त्यसैगरी रत्नपार्ककै कार्यालयमा कार्यरत मिटर रिडर ओम ढुंगाना पनि समातिएका छन् । ४८ वषर्ीय मिटर रिडर ढुंगाना नुवाकोट चारघरे निवासी हुन् ।
त्यसैगरी मिटर रिडर श्याम बस्नेत र प्रदीप शर्मालाई पनि प्रहरीले समातेको छ । दुबै रत्नपार्कस्थित प्राधिकरणको ग्राहक सेवा निर्देशनालयमा कार्यरत थिए । ५० वर्षका बस्नेत रामेछापको सालुपाटी निवासी हुन् भने ४६ वषर्ीय शर्माको घर नागार्जुन रानीवन हो । त्यस्तै प्राधिकरणको रत्नपार्क कार्यालयमै कार्यरत अर्का मिटर रिडर काकुर महर्जनपनि समातिएका छन् । ४४ वषर्ीय महर्जन काठमाडौं ३४, बानेश्वरका बासिन्दा हुन् । रत्नपार्ककै कार्यालयमा कार्यरत अर्का मिटर रिडर मनिज श्रेष्ठ पनि प्रहरीको फन्दामा परेका छन् । ४९ वषर्ीय श्रेष्ठ काठमाडौं १० का बासिन्दा हुन् । त्यस्तै ललितपुरको लगनखेल स्थित प्राधिकरणको मिटर रिडर पदमा कार्यरत ३९ वषर्ीय सूर्यबहादुर थापालाई पनि प्रहरीले समातेको छ । थापाको स्थायी घर दाङको फूलबारी गाविस हो । उनी ललितपुरको इमाडोलमा बस्थे । नेपाल विद्युत प्राधिकरण भक्तपुरका पूर्वसुपरभाइजर भगवान पाण्डे पनि समातिएका छन् । ५४ वर्षका पाण्डे नगरकोटका बासिन्दा हुन् । त्यसैगरी विद्युत प्राधिकरणका पूर्वमेन्टिनेन्स टहलबहादुर कार्की पनि समातिएका छन् । ५६ वर्षका कार्की रामेछापको ठोसे गाविस वडा नं ९ निवासी हुन् ।

0 comments

Write Down Your Responses